भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञ तथा प्राविधिकको सहयोगमा नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा खोजी तथा उद्धार गरिरहेको छ ।
नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोको सुरुङमा संयुक्त टोली करिब ५० मिटर भित्रसम्म प्रवेश गरी खोजी गरेको छ । त्यस्तै लाङटाङ हाइड्रोमा टोली करिब १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा करिब २०० मिटरभित्रसम्म प्रवेश गरेर खोजी गरेको छ ।
त्रिशूली–३ ‘ए’ मा टनेल हेड फेला पारिएको छ भने कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने तथा पानी निकाल्ने काम भइरहेको छ । तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फ करिब १५ मिटर वैकल्पिक मार्ग खोलिएको छ । रक ब्रेकर प्रयोग गरी सुरुङभित्र प्रवेश गर्ने स्थान बनाउन ढुंगा फुटाउने काम पनि भइरहेको सेनाले जनाएको छ ।
त्यस्तै त्रिशूली–३ ‘बी’ मा विज्ञसहितको टोली खटिएको छ । सुरुङ प्रवेशद्वार पत्ता लगाएर एक्साभेटर प्रयोग गरी भित्र जाने बाटो बनाउने काम भइरहेको छ ।
बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न विद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
उद्धार गरिएकामध्ये रसुवागढीबाट २, माथिल्लो त्रिशूली–१ बाट ३३, माथिल्लो त्रिशूली–३ ‘ए’ बाट २२१, माथिल्लो त्रिशूली–३ ‘बी’ बाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ र देवघाट जलविद्युत् आयोजनाबाट ५ जना रहेका छन्।
बाढीका कारण सुरुङ तथा आयोजनाका संरचनामा क्षति पुगेकाले सम्पर्कविहीनको खोजी अझै चुनौतीपूर्ण बनेको छ।