स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार प्रभावित ११ वटा जलविद्युत् आयोजनाबाट ठूलो संख्यामा मानिस हराइरहेका छन् ।
सबैभन्दा धेरै रसुवास्थित निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५७३ जना सम्पर्कविहीन छन् । सोमबार तीन जनाको उद्धार भए पनि अन्यको अवस्था अझै अज्ञात रहेको छ । हराइरहेकामध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने मजदुर रहेको बताइएको छ ।
यस्तै, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि प्रयास जारी छ । सुरुङको टनेल पोर्टल सफा गर्ने, पानी हटाउने तथा भित्र प्रवेश गर्ने बाटो बनाउने काम भइरहेको छ । सुरुङभित्र पानी भरिएकाले उद्धारमा कठिनाइ भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेको छैन । नेपाली सेना, भारतीय सेना तथा प्राविधिकसहितको टोली आयोजनास्थल पुगेको छ ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा हराइरहेकाहरूको खोजी जारी छ । बाढीले आयोजनाका संरचना तथा २२० केभी त्रिशूली–३ बी हब सबस्टेसनमा समेत ठूलो क्षति पुर्याएकाले उद्धारमा थप समस्या भएको छ ।
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन छन् । जसमा ४९ जना कर्मचारी रहेका छन् । नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीले सुरुङभित्र खोजी गरे पनि मानिस फेला पार्न सकेको छैन ।
नुवाकोटका प्रभावित आयोजनामध्ये त्रिशूलीबाट १, देवीघाटबाट १, माथिल्लो त्रिशूली–३ ‘ए’बाट ४२, माथिल्लो त्रिशूली–३ ‘बी’बाट १९८ र मिडल त्रिशूली गंगाबाट २ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।
बाढीका कारण आयोजनाका भौतिक संरचनामा व्यापक क्षति पुग्नुका साथै सयौँ कामदारको अवस्था अझै यकिन हुन नसक्दा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । इप्पानले आयोजनाहरूबाट प्राप्त हुने थप विवरणका आधारमा सम्पर्कविहीनको संख्या तथा उद्धारसम्बन्धी विवरण अद्यावधिक हुन सक्ने जनाएको छ।