हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित राप्ती खोलाले बगाएका एक वृद्धको शव फेला परेको छ ।
प्रहरीका अनुसार मनहरी गाउँपालिका–४ मसिनेका करिब ७० वर्षीय बलबहादुर रुम्बाको शव मंगलबार बिहान फेला परेको हो ।
बिहान करिब ७ः१० बजे राप्ती खोलाले एक व्यक्तिलाई बगाएर लगिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।
खोजी गर्ने क्रममा रुम्बाको शव बस्तीपुर पुलबाट करिब ५०० मिटर तल राप्ती खोलाको मध्यभागमा काठ र ढुंगाबीच अल्झिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३