१० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौं जानुपर्नेछ भने काठमाडौंँबाट हेटौँडा फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।
कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनका लागि काठमाडौं–हेटौँडा रुट फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी तोकिएको छ । हेटौँडाबाट काठमाडौं जाँदा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्नेछ ।
त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई उक्त पुल प्रयोग नगरी छेउको डाइभर्सनबाट सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
प्रहरीले विपद्को समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, आफ्नो पालोमा अनुशासित रूपमा सवारी चलाउन, ओभरटेक नगर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।
यसैबीच, भोटेकोसी बाढी तथा अविरल वर्षाका कारण पृथ्वीराजमार्गका बेनिघाट रोराङ–७ कृष्णभिर र धादिङको गजुरी–२ परेवाभिरमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।