काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीमा परेकाहरूको उद्धारको अवस्था तथा चुनौतीबारे प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन् ।
सोमबार (भदौ १५) बिहानदेखि प्रधानमन्त्री बालेनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिएका हुन् । सुरक्षा निकायका प्रमुखहरूले बाढी प्रभावित क्षेत्रको अवस्था, उद्धारमा देखिएका चुनौती तथा आगामी योजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग ब्रिफिङ लिएका थिए ।
एक सुरक्षा संगठनका प्रमुखका अनुसार भोटेकोसीको बहावमा समय–समयमा हुने परिवर्तन, प्रभावित क्षेत्रमा पुग्ने कनेक्टिभिटीको समस्या तथा नदी किनारमा थुप्रिएको लेदो उद्धारका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री बालेनले उद्धारमा ढिलाइ भएको भन्दै आलोचना हुन थालेको विषयसमेत उठाउँदै आवश्यकताका आधारमा जतिसक्दो छिटो उद्धारमा प्रतिक्रिया जनाउन निर्देशन दिएका थिए ।
“हामी सामूहिक रूपमा नै उद्धारमा खटिएको जानकारी गराएका थियौँ । चुनौतीबारे पनि जानकारी भयो नै । तर, उहाँको मुख्य कन्सर्न छिटो रेस्पन्स हुनुपर्ने भन्ने थियो,” ती अधिकारीले भने ।
लेदोका कारण आवश्यक प्रविधिबिना उद्धारमा जाँदा सुरक्षाकर्मी स्वयं जोखिममा पर्ने अवस्था रहेको जानकारी पनि प्रधानमन्त्रीलाई गराइएको थियो । नदी किनारमा शव देखिए पनि बाक्लो लेदोका कारण उद्धार टोली त्यहाँसम्म पुग्न नसकेको सुरक्षा प्रमुखहरूले बताएका थिए ।
नदी किनारको क्षेत्र उत्खनन गरेर शव निकाल्नसमेत सम्भव नहुने निष्कर्षबारे सुरक्षा प्रमुखहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
भदौ १० गते बिहान रसुवाको भोटेकोसीमा बाढी आएलगत्तै सरकारले उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । बाढीमा परेकाहरूको तत्काल उद्धारका लागि नेपाली सेनासहित निजी क्षेत्रका हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० हजारभन्दा बढी सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा फिल्डमा खटिएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३