काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभाव परेपछि बेपत्ताको शव खोजी, उद्धार तथा व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ ।
बाढीमा परी बेपत्ता भएकाहरूका शव चितवनका नदी तटीय क्षेत्रमा समेत फेला पर्न थालेपछि ड्रोन, रबरबोटलगायत उद्धार सामग्रीसहित ४३६ जनाको संयुक्त फौज खोज तथा उद्धारमा परिचालन गरिएको हो ।
सेनाको टोलीले चितवनका विभिन्न नदी तटीय क्षेत्रमा सम्भावित स्थान पहिचान गरी ड्रोनमार्फत खोजी गरिरहेको छ । साथै रबरबोटको प्रयोग गरी नदी तथा आसपासका क्षेत्रमा बेपत्ताको खोजीलाई निरन्तरता दिइएको छ ।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि बेपत्ताको खोजी, फेला परेका शवको उद्धार तथा सुरक्षित व्यवस्थापनलाई प्राथमिकतामा राखेर खोज तथा उद्धार अभियान तीव्र पारिएको नेपाली सेनाले जनाएको छ ।