काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्षसहित चार जना जनप्रतिनिधि सम्पर्कविहीन भएका छन् ।
गाउँ कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार वडाध्यक्ष कामी छिरिङ तामाङ, वडा सदस्य कामी सेदार घले, वडा सदस्य सोनाम छिरिङ घले र दलित महिला वडा सदस्य लक्ष्मी परियार सम्पर्कविहीन भएका हुन् ।
भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएको घलेले बताए ।
यसैबीच, गोसाइँकुण्ड गाउँपालिकाका करिब १६० जना बाढीपीडितलाई उद्धार गरी काठमाडौंको सानोभर्याङस्थित येल्लो गुम्बामा राखिएको छ ।
घलेका अनुसार बाढीपीडितले तत्काल उद्धार र राहत पाए पनि उनीहरूको दीर्घकालीन व्यवस्थापन चुनौती बनेको छ । “हामी अहिले राहत र उद्धारमा छौँ तर पछि के गर्ने भन्ने चिन्ताले पिरोलिएका छौँ,” उनले भने ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३