काठमाडौं । सरकारले हालसम्म बाढीपहिरो प्रभावित विभिन्न जिल्लामा ४७७ जनाको शव भेटिएको जानकारी दिएको छ।
मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १८८ जनाको शव भेटिएको हो।
सरकारका अनुसार हालसम्म ३ हजार २५३ जनाको सकुशल उद्धार गरिएको छ।
उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरीका १ हजार ८४५ गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।
उद्धार तथा राहतका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकोप्टर परिचालन गरिएको सरकारले जनाएको छ।
प्रभावित क्षेत्रमा १० ट्रकभन्दा बढी राहत सामग्री पठाइसकिएको छ भने चारवटा हेलिकोप्टरमार्फत खाद्य तथा गैरखाद्य सामग्री ढुवानी भइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३