मंसिर १३, काठमाडौँ । नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा हुँदा पनि तीन जिल्लामा सेवा पुग्न सकेको छैन । मनाङ, मुस्ताङ र डोल्पामा रक्तसञ्चार सेवा सुरु हुन सकेको छैन । रक्त सञ्चार सेवा सुरु भएको स्वर्णजयन्तीका अवसरमा नेपाल जनस्वास्थ्य प्रयोगशाखा र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अझ पनि रगतको अभावमा धेरैले ज्यान गुमाउन परेको गुनासो बढिरहेको समयमा ती जिल्लामा यथाशक्य चाँडो रक्तसञ्चार सेवा सञ्चालन गर्न निर्देशन दिएका छन ।
उनले रगतको गुणस्तरीयतामा कुनै सम्झौता नगरी दाताले निःशुल्क उपलब्ध गराएको रगत बिरामीलाई पनि कुनै पनि प्रकारको शुल्क नदिई निःशुल्करूपमा प्रदान गर्ने वातावरण बनाउन पनि आग्रह गरे । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले रक्तसञ्चार केन्द्र टाढा हुँदा बिरामीले निकै कष्ट भोग्नुपरेको उल्लेख गर्दै रातको समयमा रगत पाउन निकै कठिन भएको बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७३