काठमाडौं, आम जनता पार्टी (आजपा)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै तत्काल उद्धार, राहत र पुनःस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।
आजपा प्रवक्ता सुभाष साहले मंगलबार प्रेस वक्तव्य जारी गर्दै बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ताको खोजी तथा उद्धारलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

उनले बाढी प्रभावित तथा अलपत्र नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी तत्काल निःशुल्क भोजन, बसोबास र औषधोपचारको व्यवस्था गर्न माग गरेका छन् । साथै, घरबारविहीन, निजी सम्पत्ति गुमाएका तथा विस्थापित परिवारका लागि उचित राहत, क्षतिपूर्ति र पुनःस्थापनाको प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
आजपाले भोटेकोशी र यसका सहायक नदीमा आउने आकस्मिक बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन तथा तटबन्धलगायत दीर्घकालीन नदी नियन्त्रणका उपाय अवलम्बन गर्नसमेत माग गरेको छ ।

बाढीको घटनाबारे सत्य–तथ्य बाहिर ल्याउन आग्रह गर्दै आजपाले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीले उद्धार, राहत तथा सहयोग संकलनमा जुट्न आफ्ना नेता–कार्यकर्ता र आम नागरिकलाई आह्वान गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३