चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति, रजिष्ट्रार र डिनसहितको टोलीले चारवटा आङ्गिक क्याम्पसको स्थलगत निरीक्षण गरेको छ।
उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलका अनुसार टोलीले सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबासस्थित क्याम्पसको आकस्मिक निरीक्षण गरेको हो। तीमध्ये कटारी क्याम्पसमा वन स्नातक तथा अन्य तीन क्याम्पसमा कृषि स्नातक तहको अध्ययन–अध्यापन हुँदै आएको छ।
निरीक्षणका क्रममा विद्यार्थी, प्राध्यापक, कर्मचारी र क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरिएको थियो। भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर, विद्यार्थी भर्ना, सुशासन, पारदर्शिता तथा जवाफदेहितालगायत विषयमा छलफल गरी सुझाव लिइएको उपकुलपति कट्टेलले बताए।
टोलीले तत्काल समाधान गर्न सकिने समस्या समाधानका लागि आवश्यक निर्देशनसमेत दिएको छ। नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक प्रचारप्रसार गर्न पनि क्याम्पसलाई आग्रह गरिएको छ।
टोलीमा उपकुलपति कट्टेलसँगै रजिष्ट्रार प्रा.डा. सुबिर सिंह, कृषि सङ्कायका डिन प्रा.डा. सुन्दर तिवारी र वन सङ्कायका डिन प्रा.डा. गान्दिप काफ्ले सहभागी थिए। विश्वविद्यालयमा कृषि, वन, पशु चिकित्सा विज्ञान तथा पशुपालन र मत्स्य विज्ञानका स्नातक तथा सोभन्दा माथिका तहमा अध्ययन–अध्यापन हुँदै आएको छ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३