अमेरिका र चीनबीच व्यापार युद्ध चर्कदा संसारभरका सेयर बजारमा एकै दिनमा ठूलो धक्का लागेको छ ।
वासिङ्टनमा अघिल्लो साता सुरू भएको ११ चरणको वार्ता बिनानिष्कर्ष टुंगिएपछि चर्किएको व्यापार युद्धले सोमबार मात्रै संसारका प्रमुख सेयर बजारले एक हजार अर्ब डलरभन्दा बढीको गिरावट ब्यहोरेका छन् ।
अमेरिकाले चीनबाट आयात हुने २ सय अर्ब डलर बराबरका सामानमा लगाउँदै आएको १० प्रतिशत भन्सार शुल्क शुक्रबारदेखि बढाएर २५ प्रतिशत पुर्यौएको थियो । त्यसको बदलामा चीनले सोमबार अमेरिकाबाट आयात हुने ६० अर्ब डलर बराबरका सामानमा लगाउँदै आएको भन्सार शुल्कमध्ये केहीमा बढाएर जुन १ देखि २५ प्रतिशत पुर्याउने घोषणा गरेको छ । अमेरिकाले चीनबाट ५ सय अर्ब र चीनले अमेरिकाबाट सवा अर्बभन्दा बढीका सामान आयात गर्छन् ।
संसारका सबैभन्दा ठूला दुई आर्थिक महाशक्तिबीच व्यापार युद्ध चर्कंदै जाँदा विश्व अर्थतन्त्रमा शिथिलता आउन सक्ने धेरै अर्थशास्त्रीहरूले चेतावनी दिइरहेका छन् ।
२०१८ मा अमेरिकी अर्थतन्त्र २०.४ ट्रिलियन डलर बराबरको थियो भने चिनियाँ अर्थतन्त्र १४ ट्रिलियन डलर बराबरको थियो । तेस्रो ठूलो अर्थशास्त्र चीनले पनि अमेरिकी आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेको २४ घण्टामै विश्व सेयर बजारमा एक हजार डलर बराबरको गिरावट आएको हो । यो गिरावटको सबैभन्दा बढी मार उच्च प्रविधिमा काम गर्ने कम्पनीले व्यहोरेका छन्। त्यस्तै सबैभन्दा ठूलो गिरावट अमेरिकी सेयर बजारमा आएको छ।
अमेरिकी कम्पनी एप्पल, इन्टेल र क्याटरपिलरका सेयर सबैभन्दा धेरै झरेका छन्। एप्पलको सेयर एकैदिनमा ५.४ प्रतिशत, क्याटलपिलरको ५ प्रतिशत र इन्टेलको २.४ प्रतिशतले झरेका छन्।
गत जुनमा ट्रम्पले पहिलो पटक ३४ अर्ब डलरबराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीन र अमेरिकाबीच व्यापार युद्ध सुरू भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६