भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको निर्वाचनको पहिलो चरण बिहीवारबाट सुरु हुँदैछ। दशौँ लाख भारतीयहरूले २० वटा राज्य र केन्द्रशासित क्षेत्रका ९१ वटा निर्वाचनक्षेत्रमा मतदान गर्नेछन्।
संसद्को तल्लो सदन लोकसभाका लागि सात चरणमा हुने मतदान मे १९ तारिखसम्म हुनेछ। तर मतगणना भने २३ तारिखमा सुरु हुनेछ।
नब्बे करोड योग्य मतदाता रहेको यो निर्वाचनलाई अहिलेसम्मकै सर्वाधिक ठूलो निर्वाचन मानिएको छ।
मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा ठूलो मतसहित जितेको थियो। संसद्को तल्लो सदन अर्थात् लोकसभामा पाँच सय ४३ निर्वाचित सिट छ र सरकार बनाउनका लागि कुनै पनि पार्टी वा गठबन्धनले कम्तीमा दुई सय ७२ सिट जित्नुपर्नेछ।
भाजपाले अहिलेको जस्तै बहुमत कायम निर्वाचन अभियान चलाएको छ। तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौतीको खेप्नुपरेको छ।
राहुल गान्धीका बुवा राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरू सबै नै भारतको प्रधानमन्त्री बनेका थिए।
उनकी बहिनी प्रियङ्का गान्धी गत जेनुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन्। प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन्।
मोदी सत्तारूढ दलका लागि मत तान्ने प्रमुख व्यक्तिमा रूपमा रहेका छन्। तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन्। मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन्।
यो निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन्। सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए। कोही पनि मतदाताले मतदान केन्द्र पुग्नका लागि दुई किलोमिटरभन्दा पर पुग्नुपर्नेछैन।
निर्वाचन अधिकारी र सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति भएकोले मतदान एप्रिल ११ देखि मे १९ को बीचमा सात चरणमा हुनेछ। संयुक्त धिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो। पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो। सन् १९६२ देखि १९८९ सम्म निर्वाचन सकिन चार देखि १० दिन लागेको थियो। सन् १९८० मा चार दिनमा सकिएको निर्वाचन देशकै सबैभन्दा सानो समयावधिमा सकिएको हो।
यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन्। नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको सङ्ख्या डेढ करोड छ।
-बिबिसि
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५