सिक्किम भारतमा सन् १९७५ मा विलय भएपछि पनि यहाँ क्षेत्रीय दलकै दबदबा कायम रहँदै आएको छ । सिक्किमका जनताले राष्ट्रिय दलमाथि विश्वास गर्न नसकेका कारण यहाँ सन् १९७९ देखि नै विधानसभा निर्वाचनमा राष्ट्रिय पार्टीले जीत हासिल गर्न सकेका छैनन् ।
सिक्किम नेसनल पिपुल्स पार्टी (एसएनपीपी)का अध्यक्ष डी बारफुंगपा भन्छन्, ‘हामी राष्ट्रिय दलमाथि अनुच्छेद ३७१ (एफ)को संरक्षणलाई लिएर विश्वास गर्न सक्दैनौँ । यसले सिक्किमका जनतालाई प्राप्त विशेषाधिकारको रक्षा गर्छ ।’
यस्तै, विचार सत्तारुढ एसडीएफका प्रवक्ता के.टी. ग्याल्टसेनको पनि छ । उनी भन्छन्, ‘क्षेत्रीय दल, खासगरी एसडीएफ लामो समयदेखि सिक्किमको सत्तामा छ किनकि उसले आफ्नो विचारधारा र शासनलाई सिक्किमका जनताको हितसँग जोडेको छ ।’
अक्टोबर १९७९ मा भएको पहिलो विधानसभा निर्वाचनमा नरबहादुर भण्डारीको नेतृत्वमा रहेको सिक्किम जनता परिषद् (एसजेपी) बहुमत ल्याएर सत्तामा आएको थियो ।
पार्टीले ३१ सिटमा चुनाव लडेकोमा १६ सिटमा जीत हात पारेको थियो । दुई अन्य क्षेत्रीय दल सिक्किम कांग्रेस (आर) र सिक्किम प्रजातन्त्र कांग्रेस (एसपीसी) ले क्रमश: ११ र चार सिट जितेका थिए । एसजेपीपछि कांग्रेसमा विलय भयो भने भण्डारीले सो पार्टी छाडे । उनले नयाँ क्षेत्रीय दल सिक्किम संग्राम परिषद् (एसएसपी) गठन गरे ।
सन् १९८५ मा सानदार प्रदर्शन
सन् १९८५ मा भएको विधानसभा निर्वाचनमा एसएसपीले सानदार प्रदर्शन गर्यो । सो पार्टीले ३१ मध्ये ३० सिटमा जीत हासिल गर्यो । भण्डारीको पार्टी १९८९ को विधानसभा निर्वाचनमा पनि विजयी भयो । उनी सबै ३२ सिट जितेर तेस्रो पटक मुख्यमन्त्री भए । तर सन् १९९० मा उनको लोकप्रियता घट्न थाल्यो । उनकै निकटवर्ती रहेका पवन चाम्लिङ उनको विपक्षमा उभिए र आफ्नो पार्टी एसडीएफ गठन गरे ।
क्षेत्रीय दलमाथि भरोसा
क्षेत्रीय दलमाथि राज्यका जनताको लगातार विश्वास देखिन्छ । सन् १९९४ मा चाम्लिङको पार्टी एसडीएफले १९ सिट जित्यो भने भण्डारीको पार्टी १० सिट जितेर दोस्रो भयो । सन् १९९९ को विधानसभा निर्वाचनमा पनि क्षेत्रीय दलकै दबदबा कायम भयो ।
चाम्लिङको पार्टी २४ सिट जितेर सत्तामा आयो भने एसएसपी मुख्य विपक्षी दल बन्यो । सन् २००४ मा चाम्लिङको एसडीएफले ३२ सिटमा नै जित्यो र संसद विपक्षीविहीन बन्यो । उनको पार्टी सन् २०१४ मा पाँचौँ पटक जितेर सत्तामा आउँदा २२ सिट जितेको थियो ।
यस पटक बिहीबार हुन लागेको निर्वाचनमा चाम्लिङले उनकै पूर्वसहकर्मी प्रेमसिंह तामाङको सिक्किम क्रान्तिकारी मोर्चाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५