काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका रावलले बिहीबार नै पदबहाली गरेका छन्। मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।
शपथ समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए। उनी २०६९ मा उपनिर्देशक, २०७५ मा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।
कार्यकारी निर्देशक भएपछि उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३