काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री मातहतको संस्था नभएको बताएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी जान नहुने धारणा राखे । अख्तियारका पदाधिकारीकै कारण आयोगले आफ्नो दायित्व प्रभावकारी रूपमा पूरा गर्न नसकेको आरोपसमेत उनले लगाए ।
सिंहले अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले न्यायालय र अख्तियार ‘बिचौलिया उत्पादन गर्ने संस्था’ जस्तो बनेको टिप्पणी गरे ।
उनले संवैधानिक निकायमा भागबन्डाको राजनीति अन्त्य गर्नुपर्ने र ती निकायलाई पूर्वकर्मचारीहरूको ‘क्लब’ बन्न दिन नहुने बताए ।
बैठकमा सिंहले भ्रष्टाचारको रकम सुनमा लगानी भइरहेको विषयसमेत उठाए । उनले निजगढ विमानस्थलको जग्गा अधिग्रहणमा ठूलो भ्रष्टाचार भएको आरोप लगाउँदै करिब ७–८ अर्ब रुपैयाँमा बन्ने योजनामा जग्गा अधिग्रहणमै २३ अर्ब रुपैयाँ खर्च गरिएको दाबी गरे ।
नेता तथा उच्च तहका व्यक्तिहरू संलग्न भएका विषयमा अख्तियारले अनुसन्धान नगर्ने तर साना व्यक्तिलाई मात्र दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो । उनले कानुनको नजरमा सबै बराबर हुनुपर्ने बताए।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३