काठमाडौं : मेघा घिमिरे उमेरले २१ वर्षकी भइन् । दुवै हात गुमाउँदाको पीडा उनी विस्तारै बिर्सन थालेकी छन् । त्यस्ता घटना, जुन सम्झिरहनुभन्दा बिर्सनु नै उचित ठानेर उनले त्यसो गरेको बताउँछिन् । संघर्ष गर्ने अठोट लिएर पढ्न थाल्दा र उपचारको आश्वासन पाउँदा उनी घरिघरि खुसी पनि हुन्छिन् । १८ वर्षकी हुँदा भएको करेन्ट दुर्घटनामा उनले दुवै हात गुमाउनुपरेको थियो ।
विराटनगर, मिल्स एरिया, भगवती टोलमा निर्माणाधीन भवनको छतमा जाँदा उनलाई करेन्ट लागेको थियो । हातमा पञ्चरत्न माला हातमा लिएर छतमा पुगेकी मेघाले हात उचाल्ने क्रममा करेन्ट लागेको थियो । घरको छत नजिकै हाइटेन्सन लाइन भएको हुँदा केही दूरीमै भए पनि उनलाई करेन्ट लागेको थियो ।
उपचारको क्रममा विराटनगरस्थित नोवेल मेडिकल कलेज, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुष्मा कोइराला मेमोरियल मेडिकल कलेज हुँदै टिचिङ अस्पतालसम्म पुगिन् । अन्ततः उनका दुवै हात गुमे । उनका आँसुका धारा धेरै बगे । सँगै परिवारको पनि । तर अन्ततः ठोस कदम चाल्नै पर्ने भएपछि जीवन नयाँ शिराबाट थालनी गर्दै छन् उनी ।
विवाहपछि पढाइ पनि छाडेकी थिइन् उनले । एसईई परीक्षा दिन नपाई विकास कार्कीसँग विवाह बन्धनमा बाँधिएकी मेघाको वैवाहिक जीवन पनि दुर्घटनाले तुहाइदियो । दुर्घट्ना भएको दुई वर्षसम्म पनि श्रीमानले ‘खासै वास्ता’ नगरेपछि डिभोर्स गर्न बाध्य भएको मेघा बताउँछिन् ।
उपचारको क्रममा छ लाख रुपैयाँजति खर्च भएको मेघा बताउँछिन् । खर्च भएको रकममध्ये घर र माइती दुवै पक्षले व्यहोरेको उनको भनाइ छ । साथै दुई वर्षसम्म पनि श्रीमानले नहेरेपछि उनी मिडियामा जान बाध्य भइन् । त्यसपछि बढेको विवादले उनीहरूलाई डिभोर्स गर्न बाध्य पार्यो । दुर्घटनाको वर्ष दिनपछि उनले एसईई परीक्षा दिइन र पास पनि भइन् । अहिले उनी कक्षा ११ मा पढ्दै छन् । विराटनगरकै आदर्श कलेजमा उनी अध्ययनरत छन् ।
हात गुमेपछि उनी खुट्टाको औँलाले लेख्ने प्रयासरत छन् । भन्छिन्, ‘स्पष्ट रूपमा लेख्ने प्रयास गरिरहेकी छु । सुरुसुरुमा केही अप्ठ्यारो भए पनि विस्तारै बानी बस्दै गएको छ ।’ उनलाई सहयोग गर्छु भन्नेहरू पनि थुप्रै आए । केहीले गरे पनि । केहीले अझै पनि आश्वासन दिइरहेको उनी बताउँछिन् ।
२०७२ पुस २५ गते शनिबार साँझ साढे ४ बजेतिर भएको त्यो दुर्घटनाका पलहरू विस्तारै उनी भुल्न लाग्दै छन् ।
उनी मिडियामा भाइरल जस्तै बनिन् । तर सामान्य रुपैयाँको सहयोगबाहेक अन्य केही नपाएकी मेघालाई यसै साता नयाँ आशा पलाएको छ । उनलाई दुवै हात हालिदिने प्रयास गर्ने मान्छे भेटेकी छन् । अमेरिकास्थित एक नेपाली युवतीले यस प्रयासको थालनी गरेकी छन् । नाम सार्वजनिक गर्न नमान्ने उनले आजको न्युजसँग टेलिफोनमा कुरा गर्दै भनिन्, ‘यहाँको राम्रो अस्पतालमा कुरा भइरहेको छ । संभवत: चाँडै टुंगो लाग्नेछ ।’
मेघाको उपाचारमा भएको स्वास्थ्य परीक्षणका कागजपत्रका साथै उनका फोटो देखाएर अस्पतालका चिकित्सकहरूसँग सरसल्लाह भइरहेको उनी बताउँछिन् । संभव भइसकेपछि सबै कुरा सार्वजनिक गर्ने वाचा उनले गरेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५