काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरको बेलौरी क्षेत्रमा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बेलौरीको शान्तिपुरमा ३२ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ।
महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई भू-भाग नजिकै रहेको छ। जसका कारण कोशी र कर्णाली प्रदेशका केही स्थानसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि मौसम बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि वर्षाको क्रम बढ्न सक्ने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कर्णालीका पहाडी क्षेत्र, सुदूरपश्चिमका पहाडी तथा तराई भू-भाग र मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले मौसमजन्य जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३