४ चैत, काठमाडौँ । प्रेस चौतारी नेपालले राष्ट्रिय समाचार समिति (रासस)लाई सबै पक्षको समाचार महत्वका साथ समेट्न आग्रह गरेको छ । शुक्रबार रासस केन्द्रीय कार्यालय पुगेर चौतारीको प्रतिनिधि मण्डलले व्यवस्थापनलाई सबै पक्षको समाचार समेट्न आग्रह गरेको हो । प्रेस चौतारीका उपाध्यक्ष एवं ३ नं. प्रदेश इन्चार्ज विश्वमणि सुवेदीको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै समाचारमा सन्तुलन नगुमाउन र कसैप्रति पूर्वाग्रह नराख्न सचेत गराएको छ । ध्यानाकर्षण पत्रमा नेकपा एमालेले फागुन २१ बाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानको पूर्वाग्रही ढंगले समाचार सम्प्रेषण गरेको भन्दै असन्तुष्टि जनाइएको छ ।
एमालेको अभियान आरम्भ नहुँदै रासस केन्द्रबाट जथाभावी समाचार नलेख्न र धेरै महत्व नदिन जिल्ला कार्यालय र समाचारदातालाई निर्देशन दिएको समेत पाइएको भन्दै कतिपय सम्पादक र समाचारदातालाई बढी महत्व दिइएको र सञ्चार मन्त्रालयबाट त्यस्तो नगर्न आदेश आएको छ भनेर मनोवैज्ञानिक त्रास खडा गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउँदै चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदीले त्यस्ता अव्यवसायिक र पूर्वाग्रही कार्यप्रति क्षमा माग्न र आइन्दा त्यस्तो व्यवहार प्रदर्शन नगर्न सचेत गराउनुभयो । उहाँले प्रेस चौतारीमा आबद्ध भएकै नाममा उसले सम्प्रषित गरेका कतिपय समाचार जतिसुकै महत्वपूर्ण भए पनि स्थान नदिने गरेको गुनासो आएको भन्दै आस्थाका आधारमा पत्रकारमाथि गरिने व्यवहार सच्याउन आग्रह गर्नुभयो ।
जवाफमा नावय महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली विभिन्न कारणले केही कमजोरी भएको भए पनि सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले चौतारीले संस्थागत रुपमा आएर राससलाई झकझकाइ दिएको भन्दै धन्यवाद दिनुभयो । त्यस्तै राससका समाचार सम्पादक शितल महतोले राससमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै समाचार समेत कम सम्प्रेषित हुने गरेको भन्दै पद्धति र प्रक्रियामै सुधार आवश्यक रहेको बताउनुभयो ।
प्रेस चाैतारीले बुझाएको ध्यानाकर्षण पत्र ।

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७३