२९ फागुन, काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको अाज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदैछ । सरकारले शहिद घोषणा गरेको गौतमलाई ११ तोपको सलामी दिइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिनुभयो । उहाँले अन्त्यष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने बताउनुभयो । बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमलाई शुक्रबार शहिद घोषणा गर्दै सरकारले १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । आइतबार बिहान साँढे ८ बजे सेती अञ्चल अस्पताल परिसरबाट गौतमकोे शवयात्रा निकालिनेछ । शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ र सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने खनालले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७३