२७ फागुन, काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद संसदमा प्रवेश गरेको छ । शुक्रबारको व्यस्थापिका संसद बैठकमा बोल्दै खम्बुवान राष्ट्रिय पार्टीका सांसद रामकुमार राईले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा केही व्यक्तिहरूले विवाद निम्त्याएको भन्दै आपत्ति जनाएका हुन । विशेष समयमा बोल्दै सांसद राईले सर्वोच्च अदालतमा रिट दायर गरेकोमा आपत्ति जनाए । उनले भने, ‘सञ्चारमाध्यमहरूमा डिआइजी नवराज सिलवालका बिबादास्पद कुराहरू बाहिर ल्याइरहेका छन् । उनले आफू महानिरीक्षक गराइपाउँ भनेर रिट दिएका छन् । यस्ता बिबादास्पद व्यक्तिलाई महानिरीक्षक बनाइनु हुँदैन । सिलवाललाई कारबाही गर्नुपर्छ ।’ सांसद राईले भने, ‘नवराज सिलवाका विरुद्ध उजुरी पर्ने क्रम जारी छन् । गुनबहादुर थापालाई झुठ्ठो मुद्दा लगाएर सिलवालले फसाएका छन् । नवराज सिलवाल अत्यन्तै बिबादास्पद व्यक्ति हुन् । उनी प्रहरी संगठनका लागि उपयुक्त व्यक्ति होइनन् ।’ सांसद राईले सरकारले महानिरीक्षक नियुक्तिमा गरेको निर्णयलाई कार्यान्वयनको माग पनि गरे । उनले गुनबहादुर थापालाई न्यायदिन पनि माग गरेका थिए ।
राईले संसदमा गरेको सम्बाेधन यहाँ हेर्न सक्नुहुनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७३