रियाद । साउदीका पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको आशंका गरिएका दुई जनालाई सुम्पिन टर्कीले गरेको आग्रहलाई साउदीले अस्वीकार गरेको छ ।
एक साताअघि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले खशोग्गीको हत्यामा संलग्न भएको ठानिएका दुई जनालाई टर्कीसमक्ष पेश गर्न साउदीसँग माग गरेका थिए ।
बुधबार टर्कीले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । साउदीका विदेशमन्त्री अदेल अल जुबेरले भने, ‘हामी हाम्रा नागरिकहरूलाई सुम्पिदैनौं ।’
गत अक्टोबरमा इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा भएको हत्यामा साउदी अरबले ११ जनामाथि अभियोग लगाएको छ ।
साउदी गुप्तचर निकायका पूर्व प्रमुख अहमद अल अशिरी र पूर्व शाही सल्लाहकार साउद अल कहतानीलाई टर्कीको अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
टर्कीका राष्ट्रपति एर्दोगानले खशोग्गीको हत्या गर्न साउदी सरकारको उच्च तहहरूबाट आदेश आएको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५