२७ फागुन, काठमाडौँ । भारतीय सीमा सुरक्षा वल एसएसबीले पुनर्वास नगरपालिका ८ का गोविन्द गौतमको गोली हानी हत्या गरेको विरोधमा युवा संघले मकवानपुरमा बिरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछिको कोणसभामा संघका केन्द्रीय अध्यक्ष राजिव पहारी, सचिव माधव वास्तोला लगाएताले सम्बोधन गर्नुभएको छ । सभामा संघका अध्यक्ष पहारीले यस्ता घटना यो पहिलो नभएको भन्दै भारत आफुलाई दक्षिण एसियाको ठुल्दाई ठान्दै विस्तारवादी शैली अपनाउने र छिमेकी देशका नागरिकलाई हत्या, हिंसा, सीमा अतिक्रमण गर्ने काम अघि बढाएको भन्दै बिरोध गर्नुभयो । सहिद गोविन्द गौतम नेपाली जनका नायकको रुपमा रहने भन्दै उहाँले आज नेपाली युवाहरु विना वर्दीका सिमा सुरक्षाको रुपमा रहदै देशको रक्षा गरिरहेको बताउनुभयो । अध्यक्ष पहारीले लम्पसारवादी सरकार आफ्नो आयु लम्याउनको लागि विभिन्न तानावाना वुनि राष्ट्रघातिहरुलाई एकत्रित गर्दै अघि बढिरहेको भन्दै घटनालाई अन्तर्राष्ट्रियकरण गर्न, भारतको ज्यादतीको विरोधमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न सरकारसँग माग गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७३