काबुल । अफगानिस्तानका ‘लिटिल मेस्सी’ ले तालिबानको धम्कीका कारण एक पटक फेरि घर छाड्नु परेको छ ।
अर्जेन्टिनी खेलाडी मेस्सीबाट प्रभावित उनी मेस्सीप्रतिको लगाबका कारण चर्चामा आएका थिए । उनले यसअघि पनि घर छाडेर भाग्नुपरेको थियो ।
लिटिल मेस्सीको नामबाट चर्चित सात वर्षीया मुर्तजा अहमदी सन् २०१६ मा आफ्नो एक तस्बिरका कारण चर्चामा आएका थिए । सो तस्बिरमा उनले प्लास्टिकको बोराबाट बनेको एउटा टि–शर्ट लगाएका थिए ।
जुन फुटबल खेलाडी लियोनल मेस्सीको जर्सीजस्तै थियो । तस्बिर भाइरल भएपछि उनले कतारमा मेस्सीसँग भेट गरेका थिए ।
सन् २०१६ मा पाकिस्तानमा लिएका थिए शरण
मुर्तजाको परिवारले आफूहरुले अफगानिस्तानमा रहेको आफ्नो घर छाड्नु परेको जनाएको छ । उनीहरुले आफूहरुलाई तालिबानको धम्की आइरहेको बताएका छन् ।
मुर्तजा आफ्नो परिवारसँग दक्षिण–पूर्वी गजनी इलाकामा बस्दै आएका थिए । सो स्थानमा तालिबानले आक्रमण गरेपछि उनको परिवार आफ्नो घर छाडेर काबुल आएको हो ।
यद्यपि उनले घर छाड्नुपरेको यो पहिलो पटक भने होइन । सन् २०१६ मा उनले केही दिनका लागि पाकिस्तानमा शरण लिएका थिए । तर आर्थिक अभाबका कारण उनले केही समयमा नै पाकिस्तान छाड्नु परेको थियो ।

प्लास्टिकको ऐतिहासिक टिशर्ट
मुर्तजा त्यसबेला ५ वर्षका थिए । एक दिन उनले नीलो–सेतो रंगको पाटा भएको प्लास्टिकबाट बनेको बोराको टिशर्ट लगाएका थिए ।
यो अर्जेन्टिनाको राष्ट्रिय टोलीको जर्सीजस्तै थियो । जसका कप्तान लियोनल मेस्सी हुन् । मुर्तजाको टिसर्टमा मार्करले मेस्सीको नाम र १० नम्बर लेखिएको थियो ।
प्लास्टिकको बोराबाट बनेको टिसर्ट लगाएका मुर्तजाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । पछि मेस्सीले आफ्नो तर्फबाट उनलाई उपहार पठाएका थिए, जसमा मेस्सीको हस्ताक्षर भएको जर्सी पनि थियो ।
त्यसपछि मुर्तजाले मेस्सीसँग भेट्न निमन्त्रण पाए र सन् २०१६ मा दोहामा भएको एक मैत्रीपूर्ण खेलका लागि मेस्सी कतार आएका बेला उनले मैदानमा नै गएर मेस्सीसँग कुरा गर्ने अवसर पाएका थिए ।

तालिबानको डर
भलै संसारमा मुर्तजालाई लिटिल मेस्सीको नामले चिनिन्छ । तर उनको परिवारलाई उनको यही ख्याती नै तालिबानको निशानामा परेको छ ।
मुर्तजाकी आमा शफीकाले भनिन्, ‘स्थानीय प्रभावशाली मान्छेहरु हामीलाई बोलाउँछन् र भन्छन्, अब तिमीहरु धनी भयौं, तिमीहरुलाई मेस्सीले लिएको पैसा ल्याएर हामीलाई देउ, नत्र तिमीहरुको छोरालाई हामी लैजान्छौं ।’
उनले आफूहरुले घर छाड्दा केही पनि नल्याएको बताइन् । यहाँसम्मकी मेस्सीले उपहार पठाएको जर्सी पनि ल्याउन पाइएन किनकि गोलीको आवाज सुनेर मध्यरातमा नै भाग्नु परेको थियो ।
प्रसिद्धिका कारण समस्या
मुर्तजाको परिवार शिया बहुल हजारासमुदायका हुन् । जो सुन्नी तालिबानको निशानामा पर्ने गरेका छन् ।
मुर्तजाका दाजु हुमांयुले डरका कारण मुर्तजालाई दुई वर्षदेखि स्कुल समेत पठाउन नसकिएको बताए । त्यतिमात्रै होइन, उनी सबै बच्चाजस्तो सडकमा खेल्न पनि सक्दैनन् ।
मुर्तजालाई मेस्सीका बारेमा एएफपीले सोधेको प्रश्नका उत्तरमा आफूले धेरै याद गर्ने गरेको तर अब फेरि भेट हुन्छ भन्ने नलागेको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५