वासिंगटन । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको आत्मघाती हमलामा परी ५० जनाको मृत्यु भएको छ ।
सो आक्रमणमा परी अन्य कयौं घाइते भएका छन् । आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ ।
मुसलमानहरुका धर्मगुरु मोहम्मदको जन्म दिवसको उपलक्ष्यमा भेला भएका व्यक्तिहरुलाई लक्षित गरी यो आक्रमण भएको थियो ।
अमेरिकाले यस आक्रमणमा मृत्यु भएका व्यक्तिका परिवारजनलाई समवेदना व्यक्त गरेको छ । विस्फोट गराइएको समयमा सो स्थानमा करिब एक हजार मानिसहरू भेला भएका प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
अफगानिस्तानमा तालिबान तथा इस्लामिक स्टेट्स लडाकू समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन् । यसअघि गत नोभेम्बर १२ मा प्रहरी चौकीनजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको थियो ।
अफगानी तालिबान समूहसँग शान्तिवार्ताको पहल भइरहे पनि अफगानिस्तानमा आतंककारी आक्रमणमा कुनै कमी आएको छैन । केही दिन अगाडि मात्र अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गरेका थिए ।
अमेरिका नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ । तर अहिले अफगानिस्तानको आधा भन्दा बढी भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ ।
तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहत भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५