कसैलाई मन्त्री बनाएर कुनै मन्त्रालयको जिम्मेवारी दिइयो भने ऊ त्यस विषयको विशेषज्ञ नभएपनि सामान्य जानकारी राखोस् भन्ने हुन्छ ।
तर जापानका साइबर सुरक्षामन्त्रीले आफूले अहिलेसम्म कम्प्युटर नै नचलाएको बताएपछि त्यसले यतिबेला चर्चा पाएको छ । जापारी साइबर सुरक्षामन्त्री योशिटाका सेकुराडाले साइबर कानुन बनाउने उपसमितिमा नै आफूले कहिल्यै कम्प्युटर नै नचलाएको बताएका छन् ।
६८ वर्षीया योशिटाका गत महिना जापानको साइबर सुरक्षामन्त्रीमा नियुक्त भएका थिए । उनलाई सन् २०२० हुने टोकियो ओलम्पिक खेलकुदसँग जोडिएको साइबर सुरक्षाको तयारीको जिम्मेवारी दिइएको छ ।
विपक्षी डेमोक्रेटिक पार्टीका नेता मसाटो इमाएले योशिटाकाको भनाईलाई लिएर चिन्ता व्यक्त गरेका छन् । मन्त्री योशिटाकाले भने आफूसँग कम्प्युटरबारे जानकारी नभएपनि अर्का अधिकारी यसबारे जानकार रहेको र आफूलाई कुनै समस्या नहुने दाबी गरेका छन् ।
मन्त्रीको यो भनाईलाई लिएर सामाजिक सञ्चालमा आलोचना र व्यग्य समेत गरिएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५