रियाद । पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी अरबका युवराज मोहम्मद बिन सलमान नै संलग्न रहेको रिपोर्ट सार्वजनिक भएको छ ।
अमेरिकी गुप्तचर एजेन्सी सीआइएले तयार पारेको सो रिपोर्टमा साउदी युवराज मोहम्मद बिन सलमान नै खशोग्गीको हत्या गर्न आदेश दिएको उल्लेख गरिएको छ ।
सीआइएले पत्रकार खशोग्गी हत्याबारेका सबै निकटका सुत्रको विस्तृत अध्ययन गरेको उल्लेख गरेको छ । अधिकारीहरुले यस प्रकारको अभियानमा युराजको अनुमति आवश्यक हुने पनि बताइएको छ ।
साउदी अरबले भने सीआइएको यो दाबी झुठो भएको बताउँदै युवराजलाई हत्याको योजनाबारे कुनै जानकारी नरहेको दाबी पनि गरेको छ । गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित वाणिज्य दूतावासमा खशोग्गीको हत्या भएको थियो ।
यद्यपि हालसम्म उनको शब फेला परेको छैन । उनी हाल वासिंगटन पोस्टका लागि काम गर्दै आएका थिए । सीआईएले युवराज सलमानका भाई र अमेरिकाका लागि साउदी राजदूत खालिद बिन सलमानबीचको टेलिफोन कुराकानीलाई आधार बनाएर पनि खशोग्गी हत्याबारे अनुसन्धान गरेको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५