एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेर नयाँ चुनावको घोषणा गरेपछि राजनैतीक संकट चुलिएको छ ।
राष्ट्रपति सिरिसेनाले जनवरी ५ मा देशमा आमचुनाव गर्ने घोषणा गरेपछि संकट उत्पन्न भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
राष्ट्रपतिले आमचुनाव घोषणा गर्नुको अर्थ प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसँग संसदमा पर्याप्त समर्थन नहुनु प्रमुख कारण भएको देखिन्छ ।
राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई २६ अक्टोबरमा नाटकीय ढंगबाट बर्खास्त गर्दै पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेलाई प्रधानमन्त्रीको रुपमा शपथ दिलाएका थिए । यसपछि श्रीलंकामा राजनीतिक संकट गहिरिदै गएको हो ।
सिरिसेनाले संसद भंग गर्नका लागि गरेको घोषणा पछि १९ देखि २६ नोभेम्बरमा उम्मेदवारी दिन सकिने र ५ जनवरीमा चुनाव भएर १७ जनवरीसम्म नयाँ संसद गठन हुने जनाईएको छ ।
तर विश्लेषकहरुले भने राष्ट्रपतिको संसद भंग गर्ने फैसला असंवैधानिक रहेको बताएका छन् । संविधान संशोधनमा सरकारको कार्यकाल साढे चार साल रहने बताइएको छ ।
उता विक्रमसिंघेको पार्टी यूनाइटेड नेशनल पार्टी (यूएनपी) ले पनि आफूहरुलाई संसद भंगको फैसला स्वीकार्य नभएको प्रतिक्रिया दिएको छ । विक्रमसिंघले आफुलाई प्रधानमन्त्री पदबाट हटाइनु संवैधानिक कू भएको बताउँदै सरकारी निवास समेत खाली नगर्ने बताएका छन् ।
विक्रमसिंघेले ‘१९ औँ संशोधनका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्न नसक्ने र राष्ट्रपति सिरिसेनासँग साढे चार वर्षको कार्यकाल अघि संसद भंग गर्ने अधिकार नभएको भन्दै विरोध जनाउन सुरु गरेपछि त्यहाँ राजनैतीक संकट बढ्न थालेको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५