२२ फागुन, काठमाडौँ । मुलुकका प्रबुद्ध वर्गको साझा संस्था नेपाल विश्व सम्बन्ध परिषद्को अध्यक्षमा हेमन्त खरेल निर्वाचित हुनुभएको छ । नयाँ कार्य समितिका लागि शनिबार सम्पन्न निर्वाचनको गएराति अबेर सार्वजनिक भएको परिणामअनुसार वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीलाई आठ मतले पाखा लगाउँदै खरेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । नव निर्वाचित अध्यक्ष खरेलले एकसय ५० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
नागरिकस्तरमा स्थापना भएको देशका विद्वत् वर्गको सबैभन्दा पुरानो उक्त संस्थाको उपाध्यक्षमा उमेशबहादुर मल्ल, महासचिवमा असिम थापा, सचिवमा भुवन पाठक र कोषाध्यक्षमा रवीन्द्रनाथ भट्टराई निर्वाचित हुनुभएको छ । यसैगरी परिषद् कार्यसमिति सदस्यमा जया शर्मा, विराज प्रधान, बिमल खड्का, रामदयाल राकेश, बुद्धिनारायण श्रेष्ठ र सुरेन्द्रप्रसाद चौधरी चुनिनुभएको छ । निर्वाचनमा सर्वाधिक मत सचिवका उम्मेदवार पाठकले दुईसय चार र सदस्यका प्रत्याशी श्रेष्ठले दुईसय तीन मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक श्यामबहादुर केसीले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७३