ढाका । बंगलादेश सरकारले बालश्रम निषेध गर्ने कानुनको मस्यौदा पारित गरेको छ ।
पारित मस्यौदामा बालश्रम गराउनेहरूलाई कडा दण्ड तथा जरिवानाको प्रावधान राखिने भएको छ ।
प्रधानमन्ेत्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्री परिषद् बैठकले सो मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले जानकारी दिए ।
अलामले बताए अनुसार अहिले पारित भएको ‘बङ्लादेश श्रम (संशोधन) ऐन’ को मस्यौदामा कानूनको बेवास्ता गरी कसैले बालबालिकालाई श्रममा लगाएमा ५००० टाँका अर्थात् ६० अमेरिकी डलर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
मस्यौदामा १४ बर्षदेखि १८ बर्ष सम्मका बालबालिकालाई भने सामान्य कामहरूमा लगाउन सकिने उल्लेख छ ।
बंगलादेशको विद्यमान श्रम कानूनमा भने १२ बर्ष उमेर पुगेपछि सामान्य श्रममा लगाउन सकिने प्रावधान रहेको छ ।
बङ्लादेशका कारखानामा, घरेलुश्रमीकका रूपमा, व्यवसायिक प्रतिष्ठानमा र सडक बालबालिकाका रूपमा बाल श्रमिकहरूको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा नयाँ कानून बनाईएको बताइएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार बङ्लादेशमा ३२ लाख बालबालिका श्रममा संलग्न रहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५