१८ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने मन्त्रिपरिषद निर्णयमा यसअिघ जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला गरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासले बुधबार सरकारको लिखित जवाफ आएको तीन दिनभित्र अर्को पेसी तोक्ने गरी हाललाई अल्पकालीन अन्तरिम आदेश यथास्थितिमा राख्ने फैसला गरेको हो । सरकारले तेस्रो वरियतामा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय गरेपछि त्यसमा रोक लगाउन माग गर्दै अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए ।
त्यस्तै पहिलो वरियतामा रहेका डिआइजी नवराज सिलवालले पनि चन्दको नियुक्ति कानुनसम्मत नभएको भन्दै रिट हालेका थिए । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दको आइजिपी नियुक्तिका सम्बन्धमा भएका सम्पूर्ण कामकारबाही हाललाई यथास्थितिमा राख्न, नियुक्ति दिने, पद बहाली गराउने लगायत कुनै पनि कार्य नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीशहरू कार्की र केसीको संयुक्त इजलासले त्यही आदेशलाई थप निरन्तरता दिने फैसला गरेको हो । यसबाट चन्दको आइजिपी नियुक्तिसम्बन्धी अन्यौल थप केही समय लम्बिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७३