१५ फागुन, काठमाडौँ । गैरसरकारी संस्थाको दिगोपन सूचक मापन प्रतिवेदनले नेपालको नागरिक समाज संस्थाको सार्वजनिक छविमा सामान्य सुधार देखाएको छ ।गत वर्षको भूकम्पपछिको राहत र पुनःस्थापना कार्यमा गैरसरकारी संस्थाले गरेको सामाजिक सेवाका कारण अघिल्लो वर्षको तुलनामा ती संस्थाको छवि सुधार देखिएको हो । तर समग्रमा अनय मुलुकको तुलनामा नेपाल पछाडि नै देखिन्छ ।
गोगो फाउण्डेसनबाट सन् २०१५ मा गरिएको सो सूचक मापन अध्ययनमा यहाँका संस्थाको आर्थिक अवस्था, सेवा प्रवाह र सार्वजनिक छविमा शून्य दशमलव १ प्रतिशतका दरले सुधार आएको हो । दक्षिण तथा दक्षिण पूर्वी एसियाका सात देशमध्ये यी संस्थाको समग्र अवस्था पाँचौँ स्थानमा छ । नागरिक संस्थाको उत्कृष्ट छविमा एक अङ्क ल्याएर फिलिपिन्स अग्रणी देखिएको छ । त्यसपछि दोस्रोमा बङ्गलादेश, इन्डोनेसिया र कम्बोडिया पछि नेपाल छन् ।
मुख्यसचिव डा सोमलाल सुवेदीले आज यहाँ सार्वजनिक गर्नुभएको सो प्रतिवेदनले संस्थाको दिगोपन, दिगोपनउन्मुख, दिगोपन अवरुद्धका आधारमा सेवाको अवस्था, पूर्वाधार र सार्वजनिक छविमा मापन गरेको थियो । मुख्यसचिव डा सुवेदीले गैरसरकारी संस्थाले सरकारी नियमको पालना र घोषित सेवा प्रवाहमा देखाएको जवाफदेहिताबारे अध्ययन हुनुपर्ने भन्दै सरकारलाई यी संस्थाले परिपूरक गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३