११ फागुन, काठमाडौँ । धनुषा जिल्लामा पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई प्रहरीले सुरक्षा नदिएको खुलासा भएको छ । नेकपा एमालेको कार्यक्रममा सहभागी हुन मंगलबार धनुषा पुग्नु भएका गौतमलाई प्रहरीले पूर्वाग्रह राखी सुरक्षा नदिएको सार्वजनिक भएको छ । एमाले नेता रघुवीर महासेठको घरमा बस्नु भएका गौतमलाई लक्षित गरेर बुधबार बिहान मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेपछि यस्तो खुलासा भएको हो । ६० भन्दा बढी मोटरसाइकलमा गएका मधेसी मोर्चाका नेता कार्यकर्ताले महासेठको घरमा ढुंगा प्रहार गरेर तोडफोड गरेका छन ।
महासेठको घरमा जम्मा भएका एमाले कार्यकर्ताले प्रतिकार गर्न सुरु गरेपछि मोर्चाका नेता कार्यकर्ताको भागदौड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन । आक्रमणबाट घरमा क्षति भए पनि भित्र रहनु भएका पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र एमाले नेता महासेठ भने सकुशल हुनुहुन्छ । घटनाका बारेमा आजको न्युजसँग कुरा गर्दै नेता महासेठले यो घटनाले मधेसलाई एमालेमय बनाउने दाबी गर्नुभयो । उहाँले अमानवीय रुपमा भौतिक रुपमा आक्रमणमा उत्रने मधेसी मोर्चाका नेता कार्यकर्ताको गतिविधिको जति निन्दा गरे पनि कम हुने बताउनुभयो ।

गौतमको सचिवालयले प्रहरीले पिएसओ समेत नदिएर पूर्व उपप्रधानमन्त्रीप्रति पूर्वाग्रह पालेको जनाएको छ । घटनाको बारेमा आजको न्युजसँग कुरा गर्दै धनुषाका प्रहरी नायव उपरीक्षक मनोजकुमार यादवले मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा प्रहरीले हेरेर बसेको स्वीकार गर्नुभयो । उहाँले धेरै जनाको समूहमा रहेका कारण प्रहरी चुप बसेको बताउँदै उहाँले ढुंगा प्रहारपछि प्रहरीले लखेटेको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७३