वासिङ्टन । केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरूले बताएका छन् ।
अमेरिका विश्वको पहिलो र चीन दोस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्र हो । यी दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समयमा व्यापार विवाद शुरु भएको हो । विवाद समाधानको सट्टा बरु झन ठूलो खिचातानी जारी रहेको बताइन्छ ।
कतिपय आर्थिक विश्लेषकहरूले त यसलाई एक किसीमको व्यापार युद्धको संज्ञा समेत दिएका छन् । उनीहरू भन्छन्– पछिल्लो समयमा विवाद प्रतिदिन बढ्दै छ यस्तै अवस्था जारी रहने हो भने यसले आगामी दिनमा व्यापार युद्ध नै हुनसक्ने त्रास रहन्छ ।
पछिल्लो समय दुई देशका सरकारले एक अर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क निकै बढाएका बताइएको छ ।
शुरुमा अमेरिकाले आफ्नो देशमा आयात हुने गरेको चिनियाँ स्टील र एलुमिनियममा पहिलेको तुलनामा निकै धरै मात्रामा शुल्क बढाएको थियो । यसको चीनले कडा मात्रामा विरोध पनि गरेको थियो ।
तर अमेरिकाले चीनको कुरा नसुनेपछि यहाँ उक्त पदार्थको आयातमा पनि कमी भएको छ र अहिले नगण्य मात्रामा मात्र कतिपय चिनियाँ वस्तुहरू अमेरिका आयात भइरहेका छन् ।
अमेरिकाको यस व्यवहारका विरुद्धमा यता चीनले पनि अमेरिकाबाट आयात हुने कतिपय खाद्य पदार्थमा पनि रोक लगाएको पाइएको छ । अमेरिकालाई जवाफ दिएकै शैलीमा चीनले सुङ्गुरको मासु, मदिरा र फलफूलजस्ता पदार्थको आयातमा भन्सार शुल्क बढाएको छ ।
विश्वका यी दुई ठूला अर्थतन्त्रबीच चलिरहेको यस अवस्थाले विश्वका अरु पनि देशहरूमा आर्थिक सङ्कटहरू निम्त्याउन सक्ने खतरा बढाएको बताउन थालिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०७५