वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।
अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न आलोचनाहरु भइरहेका बेला राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको होे ।
दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा विभिन्न रुपमा आलोचना भइरहेका छन् । कतिपय अमेरिकी नागरिकले सम्झौतामा हस्ताक्षर गरेबमोजिम उत्तर कोरियाले निशस्त्रीकरण गर्न नसक्ने बताउँदै आएका छन् ।
तर राष्ट्रपति ट्रम्पले मन्त्रिपरिषदको बैठकमा उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र अन्तर्राष्ट्रिय समुदायमा पनि उसप्रतिको सकारात्मक प्रतिक्रिया आएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५