वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् ।
यसअघि ट्रम्पले आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीति सार्वजनिक गरेका थिए । उक्त नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले एक आदेशमा हस्ताक्षर गर्दै उक्त कदम फिर्ता लिएको जनाइएको छ । उनका अनुसार अब प्रवासी परिवार एकसाथमा बस्न पाउने छन् तर यो निर्णय कहिलेबाट लागु हुनेछ भन्ने खुलेको छैन ।
राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘म आफै परिवारबाट अलग भएको देख्न चाहँदैन । मेरी पत्नी मेलानिया र छोरी इवान्का पनि परिवार सँगै रहनुपर्छ भन्ने कुरामा समर्थन गर्दछन् ।’
साथै उक्त निर्णयमा अवैध आप्रवासी परिवारलाई एकसाथ हिरासतमा लिइने पनि जनाइएको छ । तर आमाबाबुलाई हिरासतमा लिँदा बच्चालाई गलत प्रभाव पर्ने देखिएमा भने अलग्गै राखिने छ ।
अमेरिकी सरकारको तथ्यांकअनुसार गत ५ मे देखि ९ जुनको बीचमा २ हजार ३४२ प्रवासी बालबालिकालाई आमाबुवाबाट अलग गरिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ६, २०७५