११ फागुन, काठमाडौँ । विपक्षी नौ राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश भए अवरोध गर्ने भएका छन । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संशोधन प्रस्ताव पेश भए उभिएर विरोध गर्ने बताउनुभयो । व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने तयारी सरकारले गरेको छ । त्यसअघि रणनीति बनाउन प्रमुख विपक्षी दल नेकपा एमालेसहित नौ दलको संयुक्त बैठक बसेको थियो । बैठकले संशोधन विधेयकलाई अघि बढाउन नदिने निर्णय गरेको छ । यसअघि एमालेसहित ९ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबल भएको थियो । सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि एमालेसहित विपक्षी दलहरु केही लचिलो देखिए पनि संशोधन विधेयक भने फेल गराइछाड्ने बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७३