भक्तपुर । ३ नं. प्रदेशको प्रदेश राजधानीको सम्भाव्यता अध्ययनका क्रममा भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरिएको छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले मंगलबार भक्तपुरका विभिन्न स्थानमा गई अध्ययन अवलोकन गरेको हो ।
प्रदेश राजधानीका लागि यसअघि काभ्रे र नुवाकोटको अध्ययन गरिसकिएको र भक्तपुरको अध्ययनपछि चितवन र मकवानपुरको अध्ययन भ्रमण गरिने बताइएको छ ।
भक्तपुरमा गरिएको अध्ययनमा समितिका सभापति दीपक निरौला सहित सदस्यहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो । अध्ययनका क्रममा बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा भएको सुझाव संकलन कार्यक्रममा सहभागीहरुले भक्तपुर विभिन्न दृष्टिकोणले प्रदेश राजधानीका लागि उपयुक्त भएको सुझाव दिएका थिए ।
छलफलमा प्रतिनिधसभा सदस्य महेश बस्नेतले भक्तपुरलाई प्रदेश राजधानी बनाउने सम्बन्धमा प्रदेश सांसदहरुले सर्वसम्मत निर्णय गर्ने विश्वास व्यक्त गरे । यस्त ३ नं प्रदेशका प्रदेशसभा सदस्य शशिजंग थापाले विभिन्न तर्क प्रस्तुत गर्दै भक्तपुरको विकल्प नभएको बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५