११ फागनु, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयका बारेमा आज थप सुनुवाइ गर्दैछ । आज न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशमा सुनुवाइ हुँदैछ । मुद्दा ६ नम्बर इजलाशको तीन नम्बर सूचीमा रहेको छ । यसअघि आइतबा तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश आजसम्मका लािग जारी रहने जनाएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आइतबार पूरक निवेदनका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधबारसम्म अल्पकालीन अन्तरिम आदेश जारी रहने जनाइएको थियो ।
गत आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने÷दिलाउने, पदबहाली गर्ने÷गराउनेलगायत कुनै पनि कार्य नगर्नू, नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आदेशमा प्रहरी महानिरीक्षकमा नियुक्त गर्दा प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूमुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यजस्ता कुरालाई ध्यानमा राख्नुपर्नेे उल्लेख थियो । प्रहरी महानिरीक्षकका लागि मापदण्डको पालना र अवलम्बन बाध्यात्मक रूपमा गर्नुपर्ने संवेदनशीलता समेतलाई विचार गर्दा दुवै पक्षका छलफलबाट अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा निष्कर्षमा नपुगेसम्मका लागि उक्त आदेश जारी गरिएको आदेशमा उल्लेखे थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई आदेश दिन माग गर्दै गत माघ २९ गते रिट निवेदन दायर गर्नुभएको थियो ।
गत आइतबार नै चन्दलाई मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेपछि अधिवक्ता ढकालले पुनः इजलासमा पूरक निवेदन दिनुभएको थियो तर त्यसका बारेमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधबारका लागि सुनुवाइ सरेको हो । निवेदनमा प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत चन्दलाई महानिरीक्षकमा नियुुक्त गरेको जनाउँदै सो नियुक्ति बदर गर्न माग गरिएको थियो । त्यसैगरी गत आइतबार चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयविरुद्ध महानिरीक्षकका आकाक्षी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले निवेदन दायर गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७३