१० फागुन, काठमाडौँ । रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा विद्यालयको गेटमा ताल्चा लगाई बालबालिकालाई बिरोध जुलुसमा प्रयोग गरेकोप्रति केन्द्रीय बालकल्याण समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजमा अशान्ति मच्चाउने, विखण्डन गर्न खोज्ने लगायतका कुत्सित उद्देश्यबाट हुने कुनैपनि गतिविधिहरुलाई न्याय संगत मान्न नसकिने भन्दै समितिका कार्यकारी निर्देशक तारक धितालले मंगलबार विज्ञप्ति मार्फत बिरोध जनाउनु भएको छ । समितिले मर्चवारमा भएको घटनामा विरोध जुलुसमा बालबालिकालाई जवरजस्ती प्रयोग गर्नु बालअधिकारको ठाडो उलंघन भएको बताएको छ ।
बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता, नेपालको संविधान २०७२, विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८, बालबालिका सम्बन्धी ऐन, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधिका मर्म विपरित हुनेगरी बालबालिकालाई बिरोध जुलुसमा प्रयोग गर्ने विद्यालय बन्द गर्ने, जस्ता क्रियाकलापहरुबाट बालबालिका जोखिममा पर्ने र उनीहरुको नैसर्गिक अधिकारको उल्लंघन हुने कार्य नगर्न, नगराउन सम्बन्धित सबैलाई समितिले अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘‘बालबालिका शान्ति क्षेत्र हुन् ।
विद्यालयलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्न नीतिगत व्यवस्थाहरु भई सोका सम्बन्धमा सबैको सहमति समेत रहेको स्मरणीय छ । तर पनि कतिपय राजनैतिक तथा अन्य समुहगत स्वार्थका निम्ति बालबालिका तथा विद्यालयको प्रयोग हुने गरेको घटनाहरु भई रहनु सबैका लागि लज्जा र दुःखको विषय हो, बालअधिकार विपरित कार्य हो ।’’ समितिले हालै निर्वाचनको मिति घोषणा समेत भएको सन्दर्भमा कुनै पनि राजनैतिक गतिविधिमा बालबालिका तथा विद्यालयको प्रयोग हुन नदिने तर्फ सतर्क रहन र त्यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि सबै सरोकारवालाहरुलाई क्रियाशिल रहन समेत अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३