काठमाडाैँ । भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजायँ दिने अध्यादेशलाई स्विकृती दिएको छ ।
केन्द्रीय क्याबिनेटले १२ वर्षसम्मका बालिकालाई बलात्कार गरेको दोषी पाइएमा मृत्युदण्ड दिइने कार्यकारी आदेश अनुमोदन गरेको हो ।
आधिकारिक स्रोतका अनुसार आपराधिक कानूनमा संशोधन सम्बन्धी यो अध्यादेशमार्फत दोषीलाई मृत्युदण्डका लागि भारतीय दण्ड संहिता, प्रमाण व्यवस्था, आपराधिक प्रक्रिया संहिता र लैंगिक अपराधमार्फत बालबालिका संरक्षण कानून (अर्थात पोक्सो एक्ट) मा नयाँ प्रावधान ल्याइने छ ।
भारतमा श्रृङ्खलाबद्ध रुपमा भइरहेको बलात्कारका घटनाका कारण सरकारको कडा आलोचना भइरहेका बेला यस्तो निर्णय गरिएको हो ।
भारतको दण्ड संहितामा गरिएको पछिल्लो संशोधन १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्ने जोकोहीका हकमा लागू हुनेछ ।
केही समय अघि जम्मू कश्मिरको कठुआमा ८ वर्षीया बालिका र गुजरातको सूरतमा बालिकालाई बलात्कारपश्चात् हत्या गरिएको थियो ।
उत्तर प्रदेशको उन्नावमा पनि एक बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको थियो । कठुआ र उन्नाव मुद्दामा देशभरी विरोध प्रदर्शन भयो र पोक्सो कानूनमा कडा प्रावधानको माग उठ्यो ।
सन् २०१६ मा बालिका बलात्कारसम्बन्धि झण्डै १९ हजार घटना भारतमा दर्ता भएको सरकारी आँकडाले देखाउँछ । अर्थात्, प्रत्येक दिन ५० भन्दा बढि त्यस्ता घटना दर्ता भएका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५