काठमाडौँ । अमेरिकाले जति सक्दो चाँडो सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउन चाहेको बताएको छ ।
गएको हप्ता गृह युद्ध ग्रस्त सिरियाको डुमामा भएको भनिएको रसायन आक्रमणपछि अमेरिका, फ्रान्स र बेलायतले संयुक्त रुपमा सिरियाली सेनाको अखडालाई लक्षित गरी हवाई आक्रमण गरेका थिए ।
रसायन आक्रमण रुसी सेनाको साथ पाएको सिरिया सरकारले गरेको आरोप छ । जुन आरोस सिरिया तथा रुसले अस्वीकार गर्दै आएका छन् ।
त्यसको जवाफ स्वरुप अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतले सिरियामा हवाई आक्रमण गरे । अहिले आएर अमेरिकाले आफ्ना सेना जति सक्दो चाँडो सिरियाबाट बाहिर निकाल्न चाहेको बताएको छ ।
यसअघि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिरियाबाट सेना फिर्ता नबोलाउनका लागि राजी गराएको बताएका थिए ।
तर अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने अमेरिकी सैनिकलाई जति सक्दो चाँडो सिरियाबाट फिर्ता बोलाइने बताएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता सारा साण्डर्सले चाँडै नै अमेरिकी सेनालाई सिरियाबाट बाहिर ल्याइने र यो सिरियामा भइरहेको अमेरिकी अभियानमा आएको परिवर्तन भने नरहेको दाबी गरेकी छन् ।
अप्रिलको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले चाँडै नै सिरियाबाट अमेरिकी सेना फिर्ता आउने बताएका थिए । तर गएको शुक्रबार राति र शनिबार बिहान अमेरिका, फ्रान्स र बेलायतले त्यहाँ हवाई आक्रमण गरे ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोनले शनिबारको हवाई आक्रमण केही अखडामा मात्रै सीमित गर्नका लागि पनि आफूले ट्रम्पलाई राजी गराएको बताएका थिए । ट्रम्प र म्याक्रोनबिच मित्रवत सम्बन्ध रहेको ठानिन्छ ।
म्याक्रोनको भनाई आएको केही समय पछि नै ह्वाइट हाउस प्रवक्ता साण्डर्सले सिरियामा अमेरिकी मिशनमा कुनै परिवर्तन नआएको र पहिले भनिए अनुसार नै अमेरिकी सेना बाहिर आउने बताइन् ।
तर अमेरिका इस्लामिक स्टेटसहितका सबै बिद्रोहीको अन्त्य गर्नका लागि प्रतिबद्ध रहेको पनि उनले बताएकी छन् । सिरियाको पूर्वी क्षेत्रमा दुई हजार अमेरिकी स्थल सेना रहेका छन् । उनीहरुले कुर्दिस र अरब समूहलाई सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५