काठमाडौँ । सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका छन्।
शनिबार बिहानै देखि सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन् ।
ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई लक्ष्य बनाएको देखिएको छ ।
शनिबारबाटै विशेषगरी सिरियाली राजधानीमा सुरु भएको यो आक्रमण अमेरिकी नेतृत्वमा सुरु भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी दिए । उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए ।
यी तीन देशका सेनाले संयुक्त रुपमा आक्रमण थालेका विश्वका सञ्चारमध्यमहरुले जनाएका छन् ।
आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकोले त्यसको क्षति र अन्य विवरणहरु भने प्राप्त भइसकेको छैन । तर दमास्कास वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठुलो मात्रामा क्षति भएको अनुमान गरिएको छ ।
हवाई आक्रमणप्रति चीनद्वारा आलोचना
अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ ।
चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो ।
सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको दायरामा फर्किन सम्वद्ध सवै पक्ष तथा मुलुकलाई आग्रह गरेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छौँ । साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौ । ”
अमेरिकाद्वारा सवै अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेको ः रुस
अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ ।
फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो ।
डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तरराष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताए।
अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरे ।
फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्वन्ध बनाउन कुनै फाइदा नगर्ने उनको भनाइ थियो ।
रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरियामा भएको आक्रमणको निन्दा गरेकी छन्।
इरानद्वारा “अपराध”को संज्ञा
इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएका छन्।
“म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,” खमेनीले भने ।
आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताए ।
सिरिया हवाई आक्रमण निर्दिष्ट लक्ष्यमा ः पेन्टागन
यसैबीच अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ ।
रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अबरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेका निष्कर्ष पेन्टागनको रहेको रक्षा मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले बताए ।
“हामी सिरियामा युद्ध चाहन्नौ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको घटनालाई वेवास्ता गरिरहन पनि सक्दैनौ,” ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँगको कुराकानीमा भने ।
हवाई आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानूनतः पुष्टि भएको छ, उनले थपे ।
सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा लेफ्टिनेन्ट जनरल केनेथ म्याककेन्जीले सिरियाली प्रशासनको रासायनिक हतियार संरचनाका लागि प्रयोग हुँदै आएका तीनस्थानमा हमला गरिएको र निशाना सही पुष्टि भएको बताए ।
अमेरिकी नेतृत्वमा भएको पछिल्लो संयुक्त कारबाहीले ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौ पछि धकेलिने छ, उनले बताए।
प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५