६ फागुन, काठमाडौँ । काठमाडौँको माच्छापोखरीबाट बालाजुतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ । मृतक दुबै जना स्कुटरमा सवार महिला रहेको प्रहरीले जनाएको छ । बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा धादिङ खाल्टेकी ३५ वर्षीय सेनिाया थापा र मकवानपुर मनहरी घर भएकी ३८ वर्षीय रिनाकुमारी राईको मृत्यु भएको ट्राफिक प्रहरीका सई गोकर्ण न्यौपानेले आजको न्युज डटकमलाई जानकारी दिनुभयो । दुर्घटनामा घाइते दुबैको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यान्ह १२ः२० मा दुर्घटना भएको र दुर्घटना लगत्तै चालक फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक नियन्त्रणमा लिएर महनगरिय प्रहरी वृत बालाजुमा राखेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७३