५ फागुन, काठमाडौँ । संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिएको छ । बिहिवार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । समितिले अघि सारेका माँगहरुमा पूर्ण समानुपातिक–समावेशी निर्वाचन प्रणाली लागु गर्नुपर्ने, सिनेटको सिण्डिकेट खारेजी गर्नुपर्ने, फर्जी विद्यार्थीको भर्ना खारेज र सार्थक वार्ताको वातावरण निर्माण लगायत रहेका छन् । समितिले आफूहरुले अघि सारेका मागहरू पुरा नगरी त्रिविले निर्वाचन गरे सशस्त्र प्रतिकार गर्ने चेतावनी दिएको छ ।
अखिल (क्रान्तिकारी)का उपाध्यक्ष लालबहादुर तामाङले संघर्ष समितिले अघि सारेका मागहरू पुरा नगरी त्रि.वि.ले स्ववियू निर्वाचन गर्नै नसक्ने दाबी गरे । उनले भने,‘हिजो रेक्टरको गाडी जल्यो, अब गाडि जलाउँदैनौ, भिसीलाई १० मिनेटभित्र गिरफ्तार गर्ने तागत हामीसँग छ, हामी स्ववियू निर्वाचन बिरोधी होईनौँ, हाम्रा जायज मागहरू पुरा गर्न किन त्रि.वि आलटाल गरिरहेको छ ? हाम्रा मागहरुको अवज्ञा गर्ने जो कोहीलाई हामी छोड्दैनौँ, त्यो हाम्रो नजरमा पर्छ ।’ त्यस्तै संघीय विद्यार्थी यूनियन लिम्बुवानका अध्यक्ष जेन्टल लावतीले समितिले अघि सारेका मागहरूमा त्रि.वि बेखबर भएकाले आगामी फागुण ८ गतेदेखि सघर्ष समिति बाध्य भएर आन्दोलनमा उत्रिने स्पष्ट पारे ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७३