मस्को । रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ । विमानमा सवार ३३ सैनिक र चालक दलका ६ सदस्यको मृत्यु भएको हो । मृतकमध्ये २७ सैनिक अधिकृत तथा एक मेजर जनरल समेत रहेका छन् ।
रुसको रक्षा मन्त्रालयलाई उद्रृत गर्दै समाचारमा जनाइए अनुसार सिरियाको तटीय शहर लताकियामा विमान दुर्घटना भएको हो ।
रुसको रक्षा मन्त्रालयले विमान प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक धारणा सार्वजनिक गरेको छ । दुर्घटनाको कारण भने यकिन भइसकेको छैन ।
विमान एयरपोर्टको रनवेको करिव ५०० मिटर दुरीमा जमिनमा ठोक्किएको थियो । जमिनमा ठोक्किएसँगै विमानमा आगलागी भएको थियो । फेब्रुअरी ३ मा पनि रसियन सेनाको विमान सिरियामा दुर्घटना भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४