४ फागुन, काठमाडौँ । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अनेक बहानामा निर्वाचनको परिस्थिति भाँड्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ सबै दल सचेत रहनुपर्ने बताउनुभएको छ । एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भएको प्रेस चौतारी नेपालको प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई ललितपुरमा आज आयोजित भोमा उहाँले आगामी माघ ७ गतेभित्र निर्वाचन गरेर देशलाई निकासको बाटोमा लैजानुको विकल्प नभएको बताउनुभयो । उहाँले जित्न वा हार्नका लागि नभई देशलाई बचाउनका लागि तीनै तहको निर्वाचन आवश्यक रहेको उल्लेख गर्नुभयो । “चुनावको ढोका बन्द गर्नु कदापी हुँदैन । चुनाव नहुँदा पार्टीलाई अधिनायकतर्फ लैजान्छ” उहाँले भन्नुभयो “जनप्रतिनिधि नहुँदा बजेटमा हिनामिना भएको छ ।”
उहाँले वर्तमान सरकारले निर्वाचन गर्न नसके प्रमुख तीन दलसहित मधेसवादी दललाई समेत समेटेर नयाँ सरकार गठन गरेर चुनाव गर्नुपर्ने बताउनुभयो । एमाले पोलिटब्यूरो सदस्य काशीनाथ अधिकारीले निर्वाचन पार्टीको एकमात्र एजेन्डा भएकोले निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेपाल पत्रकार महासङ्घमा प्रेस युनियन नेपालले लगाइएको ताला खोल्न आग्रह गर्नुभयो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासङ्घको ताला खोलेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७३