काठमाडौँ । सिरियामा इजरेलले शक्तिशाली र ठूलो हमला गरेको छ । शनिवार सिरियामा हवाई हमलालाई इजरेली सेनाले गएको ३० वर्षयताकै सम्भवत सबैभन्दा ठूलो हमलाका रूपमा व्याख्या गरेको छ ।
इजरेली प्रतिरक्षा बल आइडिएफका प्रवक्ता जोनाथन कनरिकसले दमासकस नजिकैका सैन्य अखडा हवाई हमलाको निशानामा परेको बताएको बीबीसीले जनाएको छ ।
इजरेली सेनाले १२ वटा फरक निशाना बनाएको र त्यसमध्ये ८ वटा इजरेली विमानलाई गोली हान्ने सिरियाली सैन्य अखडा नै भएको उनले बताए ।
इजरेलको हवाई हमलाको निशानामा १२ सैन्य अखडा रहेका छन् जसमध्ये ४ वटा इरानी अखडामा निशानामा पारेको क्षेत्र रहेको बताइएको छ।
सिरियाले शनिवार गोली हानी इजरेली लडाकु विमान तल खसालेपछि उक्त हमलाहरू शुरू भएको हो । इजरेलको यी पछिल्ला हमला सन् १९८२ मा लेबनानी युद्धका बेला भएको हमलापछिको सबैभन्दा महत्वपूर्ण भएको इजरेलको हवाई फौजका वरिष्ठ अधिकारी टोमर बारले बताए।
एउटा इरानी ड्रोन आफ्नो भूभागमा प्रहार गरिएपछि एफ-१६ नामक लडाकु विमानले आक्रमण थालेको तर त्यसपछि सिरियाले गोली हानी उक्त विमान खसालिदिएको इजरेलले जनाएको छ।
उत्तरी इजरेलमा उक्त विमान दुर्घटनामा पर्नु अघि नै दुईजना पाइलटहरूले प्यारासुटमार्फत सुरक्षित अवतरण गरेका थिए।
अमेरिका र रूसले सीमा क्षेत्रमा भएको हिंसा बढेसँगै आफूहरूको चिन्ता बढेको बताएका छन्।
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४