काठमाडौँ । रूसको प्रतिकार गर्न अमेरिकी सेनाले नयाँ परामाणु अस्त्र बनाउने भएको छ । अमेरिकी सेनाले परमाणविक अस्त्र विविधिकरण गर्ने र नयाँ साना आणविक बमहरु विकास गर्ने प्रस्ताव गरेको हो ।
सेनाले न्यूक्लियर पोस्चर रिभ्यू (एनपीआर) भनिने पेन्टागनको योजना दस्तावेजमा सार्वजनिक गरिएको हो । ठूलो आकारका अमेरिकी परमाणु अस्त्र प्रयोगमा ल्याउन मुश्किल भन्ने मस्कोको धारणाप्रति अमेरिकी सेना गम्भीर भएको बताइएको छ । साना अस्त्रको निर्माणले मस्कोको धारणालाई चुनौती मिल्ने उसको तर्क छ ।
सानो आकारका कम शक्तिशाली बमहरु २० किलोटन भन्दा कम शक्तिका हुन्छन । तर पनि ती विध्वंशात्मक हुन्छन् । त्यस्तै शक्तिको बम जापानको नागासाकी शहरमा प्रहार गर्दा ७० हजार मानिस मारिएका थिए ।
अमेरिकी उप रक्षामन्त्री प्याट्रिक शनाहनले वाशिङटनमा सञ्चारकर्मीहरुसँग भने, हाम्रो अस्त्र भण्डार अर्थहीन हुन दिन सक्दैनौं । सन २०१० पछि अमेरिकी सेनाले पहिलोपटक भावी दिनमा परमाणविक अस्त्रको जोखिमबारे अवधारणा पत्र तयार पारेको छ । प्रस्तावित रणनीतिक कार्यले अहिले नै ठूलो मात्रामा रहेको अमेरिकाको अस्त्र बढाउने नभै विद्यमान वार हेडुहरुको पुनस्व्यवस्थापन गर्ने बताइएको छ ।
यता आलोचकहरुले आणविक निशस्त्रीकरणको मर्मलाई ट्रम्प प्रशासनले चुनौती दिएको आरोप लगाएका छन । उक्त दस्तावेजमा उत्तर कोरिया, चीन र इरानका परमाणु अस्त्र प्रति अमेरिकाको गम्भीर चासो रहेको उल्लेख गरिएको बीबीसीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४