याङ्गुन । म्यानमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट भएको छ । उनको निवास परिसरमा बाहिरैबाट पेट्रोल बम प्रहार गरिउको थियो ।
पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको सिन्ह्वाले जनाएको छ । सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।
राज्य परिषदका महानिर्देशक उ जवा हतीका अनुसार निवासमा बम हानिएको तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।
आक्रमणकारीहरुको खोजी जारी रहेको उनले जानकारी दिए । विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला यता यो बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही आएको छैन ।
साथै बम के कति मात्रामा शक्तिशाली हो र त्यसमा कति जनाको संलग्नता हुनसक्छ भन्ने बारेमा पनि म्यानमारको सुरक्षा प्रमुखका तर्फबाट केही बताइएको छैन ।
पछिल्लो समयमा यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि म्यानमारको सैनिक ज्यादति बढेको भनी भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेपछि म्यानमारको सरकार र विशेषगरी सुकीमाथि ठूलो दबाब परेको छ ।
विश्वकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्तिले देशको शासनको बागडोर सम्हालेको बेला देशभित्रैका नागरिक यसरी लखेटिएर शरणार्थीको रुपमा विदेशिनुपरेको भन्दै उहाँको नै बढी आलोचना भएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४