काठमाडौँ । भ्रष्टाचारको अभियोगमा पक्राउ परेका साउदी अरेवियाका राजकुमार अलवालीद विन तलाल रिहा भएका छन् । साउदी अरबियामा गत नोभेम्बर महिनामा भ्रष्टाचारविरोधी कारबाहीको क्रममा उनीसहित शक्तिशाली व्यक्तिहरू पक्राउ परेका थिए ।
उनीहरूलार्इ राजधानी रियादको एक सुविधासम्पन्न होटेलमा थुनामा राखिएको थियो । एक साउदी अधिकारीका अनुसार रकम तिर्ने विषयमा अभियोजनकर्तासँग एक सहमति भएपछि राजकुमार अलवालीद छुटेको बीबीसीले जनाएको छ ।
थुनामुक्त भएपछि कुरा गर्दै उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै भ्रष्टाचारविरोधी कारबाही थालेका युवराज मोहमद बिन सलमानको कदमलाई आफूले समर्थन गर्ने बताएको रोयटर्सलार्इ उदृत गर्दै बीबीसीले जनाएको छ ।
अलवालीदले भने, "कुनै मुद्दा लगाइएको छैन। हामीले सरकारसँग केही विषयमा छलफल गरेका छौं। हाम्रो काम सफा छ। ढुक्क हुनुहोस् कि अब हामी कथाको अन्त्यतिर आइपुगेका छौं।"
राजकुमार अलवालीद साउदी अरेबियाका सबैभन्दा धनाढ्य व्यक्तिहरू मध्येका एक हुन्। युवराज मोहमदले आफ्नो शक्ति सुदृढ तुल्याउन र विपक्षीलाई चुप लगाउन त्यो कारबाही गरेको आरोप लगाइएको छ।
अहिले थुनामुक्त हुनेहरूमा मध्यपूर्वको चर्चित एमबीसी टेलिभिजन नेटवर्कका प्रमुख वालीद अल-इब्राहिम र शाही अदालतका पूर्व प्रमुख खालिद अल-तुवाइजिरि रहेका छन्।
थुनामुक्त हुनका लागि उनीहरूले मोटो रकम तिरेको समाचारहरूमा जनाइएको छ। तर उनीहरूले कति रकम तिरे त्यो खुलाइएको छैन।
कारबाही
नोभेम्बरमा गरिएको भ्रष्टाचारविरुद्धको कारबाहीको क्रममा राजकुमार, राजनीतिज्ञ, धनाड्य व्यापारीहरूसहित २०० भन्दा बढी शक्तिशाली व्यक्तिहरूलाई हिरासतमा लिइएको थियो।
उनीहरूलाई रियादको रिट्ज् कार्ल्टन होटलमा थुनिएको थियो। त्यो होटल आउने फेब्रुअरी १४ देखि फेरी खुल्ने बताइएको छ।
नोभेम्बरमा थुनामुक्त भएका राजकुमार मितेब बिन अब्दुल्लाहले एक अर्ब डलर तिरेको बताइएको छ। त्यसरी रकम नबुझाउनेहरूविरुद्ध कानूनी कारबाहीको प्रक्रिया थालिने बताइएको छ।
भ्रष्टाचारविरुद्ध कारबाही सुरु भएलगत्तै साउदी अरेबियाका महान्यायाधिवक्ताले लामो समयको अन्तरालमा १०० अर्ब डलर भन्दा बढी रकम बराबरको संगठित भ्रष्टाचार भएको बताएका थिए।
प्रकाशित मिति: शनिबार, माघ १३, २०७४